असार २३,
काठमाडौँ । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गरेको छ । वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए ।
नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षकबाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।
महानिरीक्षक ज्ञवाली गएको माघ २८ गते आईजीपीमा बढुवा भएका थिए । ज्ञवालीको कार्यकाल कोरोना संक्रमण विरुद्धको प्रतिकार्य योजनामा खटिँदै गर्दा सकिएको हो । ज्ञवालीले आफ्नो कार्यकालमा खासै उपलब्धिपूर्ण काम नगरे पनि विवादास्पद निर्णय पनि उनको पालामा भएनन् । नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । -kantipur