फागुन ५, काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो ।
‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा सामान्य गिरावट आएको छ । स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने,‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’
समायोजन पश्चात पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर ९७/९७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।
निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।