पुस ११,
भक्तपुर । मनोहरा खोलाबाट अवैध रूपमा निकालेर राखिएको बालुवा पुनः खोलामा नै हालिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका र महानगरीय प्रहरी बृत थिमिको नेतृत्वमा मनोहरा बालुवा मनोहरामै हालिएको हो । पछिल्लो केही दिनयता भक्तपुर र काठमाडौको सिमाना भएर बग्ने उक्त खोलाबाट अबैध रुपामा बालुवा निकालेर बिक्री हुँदै आएको छ । खोलाबाट निकालेर थुपारेको बालुवा डोजर प्रयोग गरेर खोलामा नै फ्याकिएको हो । बिहीबार प्रहरी बृत थिमिले खोलाबाट बालुवा निकाल्ने काम गर्ने ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिएका छन् ।
बालुवा निकाल्ने कार्यलाई रोक्न प्रहरी र नगरपालिकाले शुक्रबार दिउँसो करिब ७ मिनि ट्रक बालुवा खोलामा हालेको छ । केही दिनअगाडी मात्रै उक्त स्थानमा बालुवा बोक्ने ट्रकका चालक र प्रहरी बीच बिवाद हुँदा चालक फरार भएका थिए ।
उक्त दिन बालुवा सहितका चारवटा मिनि ट्रक प्रहरी बृत थिमिले नियन्त्रणमा लिएको थियो । प्रहरीले प्राकृति श्रोतको दोहन गरेर अबैध रुपमा बालुवा निकाल्नेलाई जरिवाना सहित कारवाही गर्न स्थानीय तहमा पठाउने गरेको छ ।