पुस १०,
काठमाडौँ । दाङको बबई गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलको घरमा अज्ञात समूहले आक्रमण गरेको छ । अध्यक्ष पौडेल घरमा नभएको बेला श्रीमतीलाई अज्ञात समूहले आक्रमण गरेको हो । गाउँपालिका अध्यक्ष पौडेलले रातोपाटीसँगको कुराकानीमा आफू घरमा नभएको बेला अज्ञात समूहले पेस्तोल देखाएर ‘तेरो बुढा खोई, कहाँ लुकाएर राखिस्’ भन्दै श्रीमतीलाई कुटपिट गरेको बताए । उनले भने, ‘घरमा बुढाबुढी मात्र छौं । छोराछोरी काठमाडौँ बसेर पढछन् ।’
‘बिहान ५ बजे मर्निङवाकको लागि निस्किए । म निस्किने बित्तिकै चारजना घरभित्र छिरेर श्रीमतीको निधारमा पेस्तो देखाउँदै धम्क्याएछन् । लछारपछार गरिरहेको बेला पेस्तोल भुँइमा झरेछ । त्यही मौकामा श्रीमती उक्त समूहको पञ्जाबाट भागेर बाँच्न सफल भइन्,’ अध्यक्ष पौडेलले बताए । श्रीमती भागेर छिमेकीको घर पुगेपछि उक्त समूह त्यहाँबाट भागेको पौडेलले बताए । उनले भने, ‘हतार–हतारमा भाग्दा उनीहरुले प्रयोग गर्ने गरेको एउटा गोली भेटिएको छ ।’ -रातोपाटीबाट