मंसिर २६,
काठमाडौं । अगाडि-पछाडि प्रहरीको स्कर्टिङसहित करिब १५ वटा सरकारी गाडीको लावालस्कर विहान हायात होटलबाट एकैपटक निस्कियो । यो भिआइपी टोलीको मिसन थियो, साँखुसम्म सडक अनुगमन गर्ने । लस्करको बीचमा थियो कालो सिसा लगाइएको झण्डावाला गाडी । गाडीभित्र सवार थिए पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ अनि प्रदेशसभा सदस्य तथा नेकपाका नेता रामेश्वर फुँयाल । यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, गोकर्णेश्वर र कागेश्वरी मनहराका मेयर, सडक विभागका इन्जिनियर, ठेकेदारहहरु उनीहरुको अघिपछि थिए । हायातबाट निस्कर बौद्ध कट्नासाथै भीआईपी टोली जोरपाटी क्षेत्रमा उत्रिन परिहाल्यो । बाटोको बीचमा ठेकेदारले माटो मिसिएको दश ट्रिप जति ग्राभेल झारेका रहेछन् । स्थानीयले ठेकेदारको पोल खोलिदिए, ‘मन्त्रीहरु अनुगमनमा आउने थाहा पाएरे रातारात ग्राभल झारेर काम गरिटोपलेका हुन् ।’
बाग्मती पुलसम्म जिम्मा लिएको ठेकेदारले अनेकन बहाना बनाएर काम नगरेको स्थानीय र जनप्रतिनिधिले टोलीसमक्ष गुनासो पोखे । ढलको समस्या मात्रै नभएर मुआब्जाको कुरा उठ्यो ।
एक स्थानीयले यो सडकले आफूहरुलाई क्यान्सर हुन लागेको बताए । यो देशमा सरकार छ कि छैन हामीलाई थाहा छैन, हामी ६ वर्षदेखि टुहुरा जनता भएका छौं,’ स्थानीय बासिन्दा दीपक लामा भने, ‘भीआईपीहरु कालो सिसा लगाएर कुद्छन्, हामीलाई भने फोक्सोको क्यान्सरले मार्ने भयो ।’ स्थानीयहरुले मुआब्जाको समस्या भए त्यसलाई छिटो हल गरेर सडक पिच गर्न माग गरे । यो सडक खण्डका विभिन्न भागमा पिच नभएको होइन, करिब ५ सय मिटर कालोपत्रे भए पनि एक किलोमिटर खण्डमा पिच त के बाटो बनाउनै सुरु गरिएको छैन । कारण हो, मुआब्जा विवाद । कतै २२ मिटरको खण्डमा कालोपत्रे भइसकेको छ भने कतै एक मिटर पनि छोइएकै छैन ।
समस्या नभएका ठाउँमा पनि सबै ठाउँमा पिच गरिएको छैन । माटो मिसएको ग्राभल ल्याएर हाल्ने र कालोपत्रे नगरी त्यतिकै अलपत्र गर्ने क्रम वर्षौंदेखि चलिरहेको छ । स्थानीयले मन्त्रीको टोलीसँग विवाद नभएका क्षेत्रमा पिच गरेर राहत दिन माग गरे । ठेकेदारले छोटो दूरीमा कालोपत्रे गर्दा रकम भुक्तानी प्राप्त नहुने भन्दै टार्दै आएको गुनासो उनीहरुको थियो । -अनलाइन खबरबाट