टान र सचिवालयबीच भ्रमण वर्ष सफल पार्न ११ बुँदे सम्झौता

474

मंसिर २६,
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच दुई पक्षीय समझदारीमा ११ बुँदामा हस्ताक्षर गरिएको छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र सम्झौताको प्रमुख उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्नेलगायतका ११ बुँदामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका छन् । अध्यक्ष सुवेदीले भ्रमण वर्ष नजिकिँदै गर्दा टानले भ्रमण वर्षलाई सफल पार्न गर्दै आएका कामहरुबारे जानकारी गराए । भ्रमण वर्ष २०२० संख्यामा २० लाख मात्रै नभई धेरै भन्दा धेरै गुणस्तरीय पर्यटक भित्र्याई नेपालको आर्थिक वृद्धि हुने उद्देश्यका साथ टानले आफ्ना सदस्य कम्पनीहरुलाई ८ लाख पर्यटक भित्र्याउन अनुरोध गरेको जानकारी गराए ।

नेपाल भ्रमण वर्ष २०२० का सदस्य सचिव एवं कार्यक्रम कार्यान्वयन समिति बच्चुनारायण श्रेष्ठले साहसिक पर्यटन प्रवर्धन गर्न आयोजना गर्नुपर्ने कार्यक्रमको विषयमा समझदारी भएको बताए । निजी क्षेत्रले पर्यटक भित्र्याउन सके मात्रै नेपाल भ्रमण वर्ष २०२० अभियान सफल हुनेतर्फ ध्यानाकर्षण गराउँदै उनले निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष २०२० अभियानलाई प्रवर्धन गर्दै आएको बताए । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक वैद्यले नेपाल भ्रमण वर्ष २०२० अभियान निरन्तर चलिरहने प्रक्रिया बताए । नेपाल भ्रमण वर्ष २०२० अभियानले नीतिगत रुपमा मात्रै नभई रोजगारी सिर्जनामा गराउन मद्दत पुग्नेमा जोड दिए । ‘नेपाल लाइफ टाइम एक्सपेरियन्स’ मूल नाराका साथ नेपाल भ्रमण गरिसकेका पर्यटकलाई फेरि पनि नेपाल भ्रमण गर्न आउन वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।