चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

188

असोज २२,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ । सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ ।