Saturday, October 24, 2026
Home समाचार मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ : सभापति देउवा

मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ : सभापति देउवा

88

असोज २१,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैंको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरूमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गरेका छन्। दशैंको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताएका छन्।

नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन्।ु
मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन्। हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ। विविधताबीचको एकता नेपालीको विशेषताको रूपमा परिचायक पनि हो। विजया दशमीले हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ’, सन्देशमा उनले लेखेका छन्।

सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन्। संसारभरि शान्तिको सन्देश फैलाउने देशको रूपमा नेपालले आफ्नो परिचय बनाएको, एकता, मेलमिलाप र सद्भावका रूपमा मनाइने विजयादशमी पर्वले हामीबीचमा केही मतभेदहरू छन् भने तिनीहरूलाई बिर्सेर, देशको सर्वाङ्गीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने उनले बताएका छन्।

सभापति देउवाले विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।