बिस्फोटक पदार्थ बरामद

252

असोज १८,

विराटनगर । मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ४३ थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो ।

मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ७ धरहरा स्थित रत्नकुमार डागीको केराघारीमा लुकाएर राखेको अवस्थामा जिलेटिन, डेटोनेटर, तार, अटोमेटिक रिमोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले गत असोज ९ गते विप्लव समूहका युवा संगठन सदस्य विपिज भनिने रामु मग्रातीलाई पक्राउ गरेको थियो । विष्फोटका घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका मग्रातीमाथि अनुसन्धान गर्ने क्रममा विष्फोटक पदार्थ मोरङ भित्रिएको रहस्य खुलेको थियो । अनुसन्धानका क्रममा मग्रातीले जिल्ला सेक्रेटरी खतिवडालाई विष्फोटक पदार्थ राख्न दिएको प्रहरी स्रोत बताउँछ । विष्फोट पदार्थ खोज्ने क्रममा प्रहरीले असोज १७ गते विराटनगरबाट विप्लवका जिल्ला सेक्रेटरी कुमार खतिवडालाई पकाउ गरेको थियो । कुमारले पनि बालकुमार डाँगीलाई विष्फोट पदार्थ राख्न दिएको वयान दिएका थिए ।

डाँगी मोरङको बुढीगंगा गाउँपालिका-७ का बासिन्दा हुन् । डाँगीमाथि सोधपुछ गर्दा उनले दाजु रत्नकुमार डाँगीको केराबारीमा लुकाएको वयान दिएका थिए । केराबारीमा खोज्ने क्रममा तीन फिट गहिरो खाल्डो बनाएर लुकाएको अवस्थामा निओजेल ९० लेखिएको ४३ थान जिलेटिन बरामद भएको अधिकारीले जानकारी दिए । तीनैजनामाथि थप अनुसन्धान सुरु गरेको उनले बताए ।