असोज ६,
काठमाडौं । चाडपर्वमा घर आउँदा ल्याउने भारतीय नोटको सटही समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । भारतबाट काम गरेर फर्कने नेपालीले ल्याएको पाँच सय, एक हजार र दुई हजारको भारतीय रुपैयाँको नोट सटही सहज बनाउन राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो ।
गृहसचिव प्रेमकुमार राईले भारतीय नोटका विषयमा राष्ट्र बैंक मौन रहेको बताएपछि समितिले यस्तो निर्देशन दिएको हो । ‘राष्ट्र बैंकको मौनताका कारण भारतीय पाँच सय, हजार र दुई हजारका नोट सटहीमा समस्या छ । चाडपर्व मान्न आउने भारतमा काम गरेर आएका नेपालीले यी नोट बोकेर आउँछन्’, उनले भने, ‘हामीले अर्थमन्त्रालयसँग पनि सहकार्य गरिरहेका छौँ । तर राष्ट्रबैंकले सटही हुन्छ पनि भन्दैन र हुँदैन पनि भन्दैन यसले समस्या निम्त्याएको छ ।’
समिति सभापति शशि श्रेष्ठले राष्ट्र बैंकको दोधारे नीतिका कारण समस्या भएका कारण गृहमन्त्रालयमार्फत समस्या समाधानका लागि निर्देशन दिइएको जानकारी दिइन् । गृहमन्त्री रामबहादुर थापाले यसबारे अर्थमन्त्रालयसँग सहकार्य गरेर समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए । सोमबार बसेको समितिको बैठकले चाडपर्वमा हुने अपराधिक घटनामा सजक हुन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले भारतबाट फर्कने नेपालीमाथि हुने लुटपाटका घटनामा सचेत रहन निर्देशन दिएको छ । यस्तै, राजधानीबाट पनि ठूलो संख्यामा मानिसहरू बाहिरने भएका कारण लुटपाट हुनसक्ने भन्दै सुरक्षा संवेदनशीलता अपनाउन निर्देशन दिएको हो । चाडपर्वमा अखाद्य वस्तु भित्रो र काजबजारी बढ्ने भन्दै यसको नियन्त्रणका लागि आवश्यक तयारी गर्न निर्देशनसमेत दिएको छ ।














