आजदेखि बाइसधारा र रत्नपार्क प्रवेश गर्दा शुल्क नलाग्ने

329

अशोज २,
काठमाडौं । आजदेखि ४ गतेसम्म काठमाडौंका रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिनु नपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो । महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बालाजुस्थित बाइसधारा र रत्नपार्क प्रवेशमा लिइँदै आइएको प्रवेश शुल्क तीन दिनलाई निःशुल्क गरिएको छ । यी पार्कमा प्रवेश शुल्कबापत २५ रुपैयाँ तिर्नु पर्छ ।

महानगरले पार्क घुम्न आउनेलाई प्रवेश शुल्क निःशुल्क गर्ने निर्देशन दिएपनि यसअघि संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने संविधान दिवसको विदा पार्क घुम्न र डेटिङ जान नभएको बताएका थिए ।

यस्तै संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि पनि महानगरले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने जनाएको छ । दिवसको अवसरमा महानगर मातहतका कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने छ । यस्तै, नागरिकलाई पनि दीपावलीका लागि आह्वान गरिएको छ ।