साउन २३,
काठमाडौं । देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । उदयपुर त्रियुगा नगरपालिका—६ चुरेबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित त्रियुगा नगरपालिका—६ जलजले बस्ने २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट संयुक्त रुपमा खटिएको प्रहरीले लहानबाटगाईघाटतर्फ जाँदै गरेको स९प८२५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै मोरङ सुनवर्षी नगरपालिका—८ सिक्टीस्थितबाट मिक्लाजुङ गाउँपालिका—९ बस्ने ४१ वर्षीय गोविन्द प्रसाद भण्डारी र रतुवामाई नगरपालिका—५ घोपाबाधटोल बस्ने ३४ वर्षीय दिपक पौडेललाई नियन्त्रित लागूऔषध १ सय एमएलको कोरेक्स डिसी ५ बोतल र पौरुष जीवन ८४ क्याप्सुल भएको ८प्याकेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले को५प१५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
झापा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिली ग्रामसहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा संखुवासभा खादबारीनगरपालिका—३ बस्ने ३४ वर्षीय बिक्रम राई, झापा बिर्तामोड नगरपालिका—२ बस्ने २२ वर्षीय तुम्बा भन्ने निर्मल चौधरी र झापा बिर्तामोड नगरपालिका—४ बस्ने २४ वर्षीय कल्याण क्षेत्री रहेका छन् ।
पक्राउमध्ये राईको साथबाट १ सय २५ मिली ग्राम, चौधरीको साथबाट ६ सय मिली ग्राम र क्षेत्रीको साथबाट १ सय २५ मिलि ग्रामउक्त पदार्थ प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।