साउन २२,
काठमाडौं ।उत्तर कोरियाले आणविक हतियार निर्माण गर्न साइबर आक्रमण गर्दै २ अर्ब अमेरिकी डलर रकम चोरेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख गरिएको छ। बीबीसीका अनुसार राष्ट्रसंघले जारी गरेको सो प्रतिवेदनमा आणविक हतियार निर्माणका लागि उत्तर कोरियाले विभिन्न बैंक र क्रिप्टो करेन्सी एक्सचेन्जमार्फत रकम चोरेको उल्लेख गरिएको छ।
संयुक्त राष्ट्रसंघले त्यस्ता ३५ वटा साइबर आक्रमणमा बारेमा अध्ययन गरिरहेको बताइएको छ।मंगलबारमात्रै उत्तर कोरियाले मध्यम दूरीका दुई क्षेप्यास्त्र प्रहार गरेको थियो। सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताइएको छ।
दक्षिण कोरिया र अमेरिकाले कोरियी प्रायद्वीपमा गर्न लागेको संयुक्त सैन्य अभ्यासको विरुद्ध चेतावनी स्वरुप सो प्रक्षेपण गर्न आदेश दिएको टाइमले जनाएको छ। उत्तर कोरियाली समाचार संस्थाले देशको पूर्वी भागमा रहेको प्रक्षेपणस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। गएको दुई हप्तामा उत्तर कोरियाले चौथोपटक क्षेप्यास्त्र प्रहार गरेको हो।














