अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चारको मृत्यु, १५ घाइते

138

एजेन्सी, साउन १३,
क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार साँझ ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको र १५ जना घाइते भएका प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना संदिग्ध बन्दुकधारी पनि छन्।

फेस्टिभलमा आएका गायक ज्याक भ्यान ब्रिनले आक्रमणकारीलाई हरियो लुगामा बन्दुक समातेको देखेको बताए। ‘कसैले चिच्याउँदै सोधको सुनें, तिमी यस्तो किन गर्दैछौ भनेर सोध्दा आक्रमणकारीले मलाई एकदम रिस उठेको छ भने,’ ब्रिनेले भने। अर्का प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले फेस्टिभल भइरहेको स्थानबाहिर लगाएको बार काटेर भित्र आएका थिए। मेटल डिटेक्टर र सुरक्षाकर्मीलाई छल्ने उनले त्यसो गरेका थिए। प्रहरीले बन्दुक आक्रमणमा दुईरतीन जनाको संलग्नता हुने सक्ने बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

तिन दिनका लागि सुरू गरिएको फेस्टिभल बन्दुक आक्रमणपछि बन्द भएको छ। अमेरिकामा आमनागरिकलाई पनि बन्दुक राख्न छुट छ। सबैले बन्दुक राख्न सक्ने भएकाले बेलाबेलामा हुने यस्ता आक्रमणमा परी निर्दोष मानिसहरूको ज्यान जाने गरेको छ। बन्दुक राख्न प्रतिबन्ध लगाउनु पर्ने माग उठे पनि अमेरिकाले बन्दुकमाथि प्रतिबन्ध लगाउने कानुन बनाउन सकेको छैन।