प्रधानमन्त्रीले रोपेका बिरूवामा पानी हाल्न् मेयर चिरीबाबुले आफूलाई गाडी किन्न छुट्याएको पैसाबाट किने ट्यांकर

97

साउन ६,
काठमाडौं । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन चढ्ने गाडी घ्याच्च-घ्याच्च रोकिन्छ। पिकअफ राम्रो छैन। कहिलेकाहीँ भनेको ठाउँ पुग्दैन, बाटोमै बिग्रिन्छ। २५ वर्ष पूरानो गाडी मर्मत गर्दा हैरानी भएपछि महानगरले मेयरका लागि प्रयोग गर्न नयाँ गाडी किन्न भन्दै ६० लाख रुपैयाँ बजेट पनि बिनियोजन गरेको थियो। तर त्यो बजेटले मेयरलाई गाडी खरिद गरिएन। देशका अधिकांश स्थानीय तहका जनप्रतिनिधि लाखौंको गाडी किनेर चढ्ने गरेकोमा आलोचित छन्।

‘नयाँ गाडी किन्न लागेको मेयरसाव मान्नुभएन,’ महानगरका प्रवक्ता राजु महर्जनले भने, ‘पूरानै गाडी चढ्छु। वृक्षारोपण गरिएका बिरूवा पानी नपाएर मरेका छन्। पानी हाल्न ट्याङ्कर किन्नुपर्‍यो भन्नुभयो, दुइटा ट्याङ्कर किन्यौं।’ मेयरका लागि गाडी किन्न छुट्टाएको बजेटले महानगरले पानी बोक्ने ट्याङ्कर किनेको हो।
असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बिरूवा सारेर सुरू गरेको कोटेश्वर-कलंकी तथा कुपन्डोल-लगनखेलसम्म सडक खण्डका किनारामा सारेका बिरूवा पानी नपाएर मरेका छन्।

‘मेयरसाबले चढ्ने गाडी पूरानो भइसकेको छ। समय समयमा बिग्रिन्छ,’ उनले भने, ‘नयाँ गाडी किनौं भनेको हो। मान्नुभएन। धेरै वृक्षारोपण भएको छ, बिरूवा मरेर जान्छ। बरू ट्यांकर किनौं भन्नुभयो।’ ट्यांकर खरिद गरेपछि बिरूवालाई मात्र होइन धुलो उडेका बेला सडकमा पानी हाल्न पनि सजिलो हुन्छ। उनका अनुसार महानगरले हालै फोहोर ढुवानीका लागि आठ वटा ट्रक पनि खरिद गरेको छ।-Setopati.com