अबिरल वर्षासँगै बाढी पहिरोको प्रकोप : ६ जनाको मृत्यु, कहाँ के भयो ?

275
फाइल तस्विर

असार २७,
काठमाडौं । देशभरका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म मुलुकका विभिन्न ठाउँमा ६ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार तराईं र पहाडका गरी ११ जिल्ला वर्षाका कारण बढी प्रभावित छन् । प्रहरी केन्द्रीय कार्यालयका अनुसार तराईंका सुनसरी, महोत्तरी, रौतहट, धनुषा, चितवन तथा पहाडी जिल्ला सिन्धुली बाढीबाट प्रभावित छन् । यस्तै पाल्पा, काठमाडौं, पाँचथर, मकवानपुरका विभिन्न ठाउँमा पहिरो गएको छ ।

काभ्रेको बनेपा नगरपालिका–३ नालामा घरमाथिबाट खसेको पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगाल छन् । पहिरोमा पुरिएर अन्य ३ जना घाइते भएका छन् ।

यस्तै रामेछापको रामपुरमा पहिरोले पुरिएर ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । पहिरोमा पुरिएर अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण घरको पर्खाल भत्किँदा भोजपुरमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७ का ६६ वर्षीय जगतबहादुर राई रहेका प्रहरीले जनाएको छ । भोजपुरकै टेम्केमैयुङ गाउँपालिका–९ मा पहिरोले पुरिएर १४ वर्षीय बालक जनक विकको मृत्यु भएको छ । शौच गर्न गएका बेला शौचालयको माथिबाट खसेको पहिरोमा पुरिएर जनकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पा –पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।

काठमाडौं- काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । तर, मानविय क्षति हुन भएको छैन । घरमा कोही नसकेको वेला घटना भएकाले क्षति नभएको जनाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जनसेवटाबाट टोली खटिएको छ । वर्षाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।

सुनसरी –सनुसरीमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ अहिले सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।

महोत्तरी –वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ ।

महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ । अन्य क्षति भने भएको छैन ।

जनकपुर- सरकारी समाचार एजेन्सी राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।

सिन्धुली –प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहलाई उदृत गर्दै राससले लेखेको छ ।

सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताएका छन् । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।

गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हँुदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।

सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।

रौतहट-अविरल वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।

अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।

सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।

यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् ।
चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको पहिलो लच्कामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको यात्रुबहाक बस अविरल परेको बर्षाको कारण आएको बाढीले रोकिएको छ ।

पाँचथर-जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार फाल्गुनन्द–३, मेची राजमार्गस्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अहिले प्रहरी चौकी, पौवासार्तापबाट प्रहरी सहायक निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने प्रयास गरिरहेको छ ।

झापा-जिल्लाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित छन् । तर, जिल्लाको नदी कन्काई, बिरिङ लगायतमा पानीको वहावले खतराको सूची नाघिनसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

जिल्लाको विभिन्न क्षेत्र जलमग्न भए पनि अहिलेसम्म कोही विस्थापित हुनु नपरेका रेडक्रसले जनाएको छ ।

बिराटनगर-अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।

सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

चितवन-माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।
अहिले त्यहाँ इलका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।

मकवानपुर-मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ ।

 

साथै वर्षासँगै चट्याङ पर्दा सिन्धुलीको गोलान्चोर गाउँपालिका–२ बित्तिजोरमा १ जना महिला घाइते भएकी छन् । घाइते हुनेमा ४० वर्षीया निर्मला कार्की रहेको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा कार्की चट्याङ लागेर घाइते भएकी थिइन् । चट्याङ लागेर घाइते भएकी कार्कीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टार ल्याइएको प्रहरीले जनाएको छ ।