एजेन्सी, असार १७,
काठमाडौं । भारतको महाराष्ट्रमा भीषण वर्षापछि विगत २४ घन्टामा २२ जनाको मृत्यु भएको छ । मुम्बईमा १३, पुणेमा ६ र कल्याणमा तीनजनाको ज्यान गएको छ । मुम्बईको मलाड ईस्टको पिम्परीपाडामा सोमवार राति साढे ११ बजे भित्तो लडेपछि १३ जनाको मृत्यु भएको छ र १३ जना घाइते भएका छन् ।
महाराष्ट्र सरकारले मलाड दुर्घटनामा मृतकका परिवारलाई पाँच लाख भारु दिने घोषणा गरेको छ । दुर्घटनापछि स्थानीयहरूले तत्कालै केही मानिसलाई उद्धार गरेका छन् । पुणेमा सोमवार बिहानदेखि चर्को पानी परिरहेको छ । त्यहाँ अम्बेगाउँस्थित सिंघड कलेजको भित्तो भत्किएपछि ६ जनाको मृत्यु भयो ।
कल्याणमा एक ऊर्दू स्कूलको पर्खाल लड्दा एक बच्चासहित तीनजनाको मृत्यु भएको छ ।