प्रधानमन्त्री रोजगार कार्यक्रम : सिस्नो फाँड्दै, बजेट सक्दै

603

असार १६,
सुर्खेत । कर्णाली प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । स्थानीय तहका जनप्रतिनिधिले तामझामका साथ उद्घाटन कार्यक्रमले बास्तविक बेराजगारलाई अझै समेट्न नसक्दा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । काममा झारा टारिँदा विकास निर्माणका कामसमेत अधुरा बनेका छन् ।
दैलेखको नारायण नगरपालिकामा शनिबार रोजगार कार्यक्रममा छनोट भएका युवा/युवतीलाई टुँडिखेल नजिकै सिस्नो फँडानी गर्न खटाइएको थियो । अन्य स्थानीय तहमा पनि सडक, नाली, सिँचाइ, खानेपानीलगायत योजना मर्मतका नाममा झारा टार्ने काम भइरहेको छ ।

मजदुरी गरी दैनिक १ हजार बढी आम्दानी गर्ने युवाले कार्यक्रममा समावेश हुँदा थप समस्या भएको बताए । सिस्नो फँडानी गर्दै गरेका जयलाल बादीले यसअघि मजदुरी गरेर २ हजार रुपैयाँसम्म कमाउँदै आएका थिए । ‘जीवनस्तर सुधार्न सकिन्छ कि भनेर कार्यक्रममा दरखास्त दिएको थिए, अहिले ५ सय १७ रुपैयाँ मात्र पाइन्छ भनेपछि समस्यामा परेको छु,’ उनले भने, ‘न राम्ररी विकास निर्माणका काम भएका छन्, न हामीले राम्रो ज्याला पाएका छौं ।’
स्थानीय बालकुमारी सुनारले सरकारले आकर्षक प्रचार गरी बेरोजगार युवालाई झुक्याएको बताइन् । झारी फँडानी गर्दा सिस्नोले पोलेर हातभरि फोका उठेको उनको गुनासो छ । अहिले सिस्नो फाँड्ने र फोहोर उठाउने काममा आफूहरू व्यस्त भएको उनले जानकारी दिइन् । स्थानीय व्यवसायी मनोज थापाले रोजगार कार्यक्रम सुरुमै प्रभावकारी हुन नसकेको बताए । ‘३० दिनमा पनि २ सय ३ जनाबाट केही नयाँ योजना बनाउन सकिन्छ,’ उनले भने, ‘तर युवालाई जथाभावी काममा लगाउँदा कार्यक्रम अर्थहीन बन्न पुगेको छ ।’Kantipur.com