‘धर्तीमाता’ विष्णु कुँवर लाई ७ दिन थुनामा राख्न अनुमति

222

असार १५,
काठमाडैँ । काठमाडौं प्रहरी परिसर, टेकुले ‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार, कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको छ । उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् । सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो ।

प्रहरीसँग बयान दिने क्रममा कुँवरले कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् । तर, आफूमा शक्ति भएको विषयचाहिँ बताउन छाडेकी छैनन् । उनले भनेकी छन्, ‘मलाई साढे २ वर्षदेखि नै देउता चढ्न थालेको हो । ममा शक्ति आएपछि के गर्छु, थाहै हुँदैन ।’ प्रहरीले पक्राउ गरेर आफूलाई दुःख दिएको समेत उनले दाबी गरेकी छन् ।