सरकारको कमजोर डेलिभरी प्रणालीका कारण इतिहास दोहोर्याउने कुचेष्टा : प्रधानमन्त्रीका सल्लाहकार

185

असार ११,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनताको असन्तुष्टिलाई ‘सके (राजनीतिक) व्यवस्था नभए सरकारविरूद्ध प्रयोग’ गर्न ‘बाहिरका र भित्रका शक्ति सक्रिय’ रहेको टिप्पणी गरेका छन्। उनले अर्थपूर्ण लाग्ने खालको ट्वीट गर्दै लेखेका छन्,”बढ्दो जन अपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणाली, यसबाट उत्पन्न जनअसन्तुष्टिलाई, सक्दा व्यवस्था उल्टाउने- नभए सरकारका विरुद्ध प्रयोग गर्ने। क-कस्लाई के कसोगरी एक ठाउँमा ल्याउन सकिन्छ भनी भित्र बाहिरका शक्तिहरु सक्रिय रहेको अवस्था। इतिहास दोहोर्‍याउने कुचेष्टा।”

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ट्वीटको अन्त्यमा ‘इतिहास दोहोर्‍याउने कुचेष्टा।’ भन्ने वाक्य लेखेका छन्।विगतमा प्रचण्डले ओली नेतृत्वको सरकार विस्थापित गर्दै कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाएका थिए।

उनको दल नेकपाका दुईजना अध्यक्ष केपी ओली र प्रचण्डबीच मतभेद देखा परेको खबरहरू आएका बेला भट्टराईले ट्वीट गर्दै इतिहास दोहर्‍याउने कुचेष्टा प्रचण्डले गरेको ठानेका हुन्?  उनले ‘अनर्थ’ लगाइएको भन्दै त्यो कुरा ठाडै अस्वीकार गरे।आफूले व्यवस्था उल्टाउने प्रयासको सिलसिलामै उक्त कुरा पनि उल्लेख गरको उनको भनाइ छ।