खुला सीमाले लागुऔषध ओसारपसार चुनौतीपूर्ण बन्यो : गृहमन्त्री

71

असार ११,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध दुरूपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन्।

लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयास पर्याप्त नहुनु र खुला सीमा नाका कारण यसको प्रयोग र ओसार पसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ थियो।

उनले भने, ‘लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा हाम्रा प्रयास पर्याप्त छैनन्। नेपालको भौगोलिक परिस्थिति, खुला सीमा नाका कारण पनि लागू औषध दुरूपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रहिआएको छ।’

सरकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रूपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई वैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे।

कानुनको सफल कार्यान्वयनसँगै रोकथाम मुलुक प्रयासलाई पनि जनस्तरसम्म पुर्याउन नसकिएको भन्दै उनले नागरिक समाजको साथै सबै वर्ग र तहलाई सहयोग गर्न आग्रह गरे। लागुऔषध दुरूपयोग र अवैध कारोबार बहुआयामिक समस्या भएकाले कानुनी र चिकित्सकीय उपचारसँगै सामाजिक तथा मनोवैज्ञानिक समाधान पनि आवश्यक रहेको बताए।

लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रम गरी साताव्यापी रूपमा मनाइएको छ।

साताको अन्तिम दिन बुधबार गृहमन्त्रालय अन्तर्गतको मूल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो।