असार ११,
काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन टूको घोषणा भएसँगै कोच परिवर्तनको विषयले अहिले खैलाबैला मच्चिएको छ । सिजन वानको कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बालाई सिजन टू मा राखिएको छैन । उनीहरुको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई राखिएको छ । गायक प्रमोद खरेल र दीप श्रेष्ठ भने यथावत छन् । आफूलाई जानकारी नै नदिएर कोचबाट हटाइएपछि अभया आक्रोशित भएकी छन् । उनले मूर्ख खालका तर्क र कारणहरु पेश गरेर आफूलाई कोचबाट हटाइएको भन्दै दुःख व्यक्त गरेकी छन् ।
भ्वाईस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले ग्रान्ड फिनालेमा सहभागी नहुँदा हेडक्वार्टरले नै असन्तुष्टि जनाएपछि अभयाको विकल्प खोजिएको बताएका थिए । पौडेलको यो भनाईको अभयाले आफ्नो ब्यान्डको युट्युब अकाउन्टमार्फत खण्डन गरेकी छन् । १३ मिनेट लामो भिडियोमा अभयाले फिनालेमा उपस्थित नहुने कुरा आफूले तीन महिना अघि नै व्यवस्थापनलाई जानकारी गराएको र व्यवस्थापनको अनुमति लिएर मात्रै आफू मेलवर्नमा कन्सर्टका लागि गएको बताएकी छन् । उनले मूर्ख कारणहरु देखाएर आफूलाई हटाएको आरोप लगाएकी छन् ।