इरानद्वारा उडिरहेको अमेरिकी जासुसी ड्रोन खसालेको दाबी

180

एजेन्सी, असार ५,
काठमाडौँ । इरानले आफ्नो देशको आकाशमा उडिरहेको जासुसी ड्रोनलाई खसालेको दावी गरेको छ । रिपोर्टमा उल्लेख अनुसार ड्रोन इरानको दक्षिणी होरमोज्गन प्रदेशमा पर्ने कुहमोबराक नजिक खसालिएको छ । सरकारी मिडियाले पनि (इस्लामिक रिभोलुस्नरी गार्ड)सेनाले ड्रोन खसालेको खबर दिएको छ ।
अमेरिकी सेनाले भने घटनाको स्वीकार अथवा खण्डन गरेको छैन । घटना पेन्टागनले उक्त क्षेत्रमा हजार अतिरिक्त फौज परिचालन गर्ने बताएको केही दिनपछि आएको छ । इरानको ‘शत्रुतापूर्ण व्यवहार’लाई जवाफ दिन सेना पठाउन लागेको अमेरिकाले बताएको छ । वाशिन्टनले ओमनको खाडिमा समुन्द्री बारुदी धरापमार्फत इरानले तेल ट्याकंरमा आक्रमण गरिरहेको आरोप लगाएको छ । दुई देशबीचको तनाव अघिल्लो सोमबार तब झनै बढ्यो, जब इरानले आफूसँग भएको न्युन प्रशोधित युरोनियमको संग्रह बढाउने घोषणा गर्यो ।

सन् २०१५ मा इरान र अन्तराष्ट्रिय शक्तिबीच भएको सम्झौता अनुसार इरानले सिमित प्रशोधित युरोनियममात्र संग्रह गर्न पाउँछ । सम्झौताबाट अमेरिका बाहिरिसकेको र अन्य युरोपेली शक्तिले पनि त्यसलाई व्यवहारमा उतार्न ध्यान नदिएकाले इरान आफूमात्र सम्झौता मान्न बाध्य नभएको बताएको छ ।