Wednesday, September 23, 2026
Home राजनीति बालुवाटारमा ओली-दाहालबीच एक्लाएक्लै छलफल

बालुवाटारमा ओली-दाहालबीच एक्लाएक्लै छलफल

90

असार ४,
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार दिउँसो ओलीको सरकारी निवास बालुवाटारमा साढे दुई घन्टा एक्लाएक्लै छलफल भएको छ। बालुवाटारमा साढे १२ बजे सुरू भएको बैठक दिउँसो तीन बजेतिर सकिएको हो।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षले शुक्रबार (६ गते) पार्टी सचिवालय बैठक बोलाउने निर्णय गरेका छन्। यसअघि प्रधानमन्त्री ओली युरोप भ्रमणमा जानुअघि जेठ २३ गते नेकपा सचिवालय बैठक बसेको थियो। सांगठनिक विभागको जिम्मेवारी लगायतका विषयमा सदस्यहरूबीच कुरा नमिलेपछि बैठक स्थगित भएको थियो। त्यतिबेला प्रधानमन्त्री युरोपबाट फर्किएपछि सबै कुरा प्याकेजमा टुंग्याउने समझदारी बनेको नेताहरूले बताएका थिए।

प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किए पनि पार्टीको बैठक बसेको थिएन। नत त्यस विषयमा दाहालसँग उनको कुराकानी नै भएको थियो। आज भएको भेटमा दुई अध्यक्षले सार्वजनिक हुन नसकेको पार्टीको राजनीतिक प्रतिवेदन टुंग्याएर प्रकाशन गर्ने निर्णय पनि गरेको स्रोतले जानकारी दियो।