असार २,
काठमाडौँ फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीत पछि टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केबिचको प्रेम सम्बन्धमा आउने उचारचढावलाई देखाइएको छ । प्रोमो हेर्नुस् :
सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास गर्न सकिन्छ । कमर्शियल शैलीको मेकिङ, कलाकारको प्रस्तुती, ब्याकराउन्ड म्यूजिक, एडिटिङ, सट साइज र साउन्ड डिजाइनका हिसाबबाट हेर्दा फिल्मको ट्रेलर उत्कृष्ट बनेको छ । ट्रेलरले फिल्मप्रति दर्शकमा कौतुहलता जगाउने देखिन्छ । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् । सानो मन असार २० गतेदेखि प्रदर्शन हुँदैछ ।














