कस्मेटिक सर्जरी गर्दा किन अपनाउने सजगता ?

408

जेठ २८,
काठमाडौँ । छिल्लो समयमा युवा पुस्तामाझ कस्मेटिक सर्जरी लोकप्रिय बन्दै गइरहेको छ । कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीको एउटा अंग हो, जो सुन्दरता बढाउनका लागि गरिन्छ । सुन्दरतालाई धेरै ध्यान दिने मोडेल, कलाकारका लागि कस्मेटिक सर्जरी बढी उपयोगी हुन्छ । अनुहारमा नमिलेको भाग र चाउरी परेको छाला तन्काउन पनि कस्मेटिक सर्जरी आवश्यक हुन्छ ।

सर्जरीका तरिका

– कस्मेटिक सर्जरी विभिन्न प्रकारका हुन्छन् । जसमध्ये सर्जरी र ननसर्जरी (सुईको माध्यमबाट गरिने) प्रमुख हुन् । सर्जरीको माध्यमबाट आँखा सानो भएमा ठूलो तथा आर्कषक र ठूलो भएमा ठिक्कको बनाइन्छ । जुन ब्लेफारोप्लास्टी सर्जरी हो । विशेषगरी मंगोलियन अनुहार भएका मानिसमाझ यो सर्जरी लोकप्रिय छ ।

– ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन राइनो सर्जरी गरिन्छ । त्यस्तै, अनुहार मिलाउन चिक अयुग्मेन्टेसन नामक सर्जरी गर्न सकिन्छ ।

-स्तनको साइज मिलाउन सिलिकन ब्रेस्ट सर्जरी गरिन्छ । मोटोपना भएका मानिसमा हिप इम्प्लान्ट सर्जरीमार्फत शरीर सेपमा ल्याउन सकिन्छ । यसरी शरीरका विभिन्न अंगमा विभिन्न तरिकाले सर्जरी गर्न सकिन्छ ।

खर्च कति ?

– नेपालमा कस्मेटिक सर्जरी सर्वसुलभ, तर महँगो छ । त्यसैले, सबैको पहुँच भएको पाइँदैन । सर्जरीको समयमा सिलिकन एम्प्लान्ट आदि प्रयोग गरिने भएकाले पनि कस्मेटिक सर्जरी महँगो पर्ने गर्छ ।

-सामान्यतया, कस्मेटिक सर्जरीको प्रकृति हेरेर खर्च लाग्छ । अस्पतालअनुसार फरक–फरक मूल्य पर्ने हुँदा पनि यति नै खर्च लाग्छ भन्ने यकिन गर्न सकिँदैन । जटिल खालको शल्यक्रियामा बढी खर्च लाग्छ भने सामान्य सर्जरी कम रकममा समेत गर्न सकिन्छ ।

उद्देश्य र आवश्यकता 

-कस्मेटिक सर्जरीको मुख्य उद्देश्य सुन्दर देखिनु हो । बाहिरी रूपमा सुन्दर देखिन शरीरका विभिन्न अंगको प्लास्टिक सर्जरी गरिन्छ । विशेषरी आँखा, नाक, छाला, नमिलेको गाला तथा निधारजस्ता अंग मिलाएर सुन्दरतामा निखार ल्याउन कस्मेटिक सर्जरी गर्नेको संख्या बढ्दो छ ।

-फिटनेसमा ध्यान दिने महिलाले ठूलो वा झोल्लिएको ब्रेस्टलाई सानो र आर्कषक बनाउन सर्जरी गर्छन् । गर्भावस्थामा पेट र तिघ्रामा आउने स्टे«चिङ धेरै भएमा हटाउन सर्जरी गर्न सकिन्छ ।

-मोटोपना घटाउन, पुरुषको ठूलो छाती सामान्य अवस्थामा ल्याउन तथा आगो वा अन्य चोटपटकबाट बनेको घाउ मेटाउनसमेत सर्जरी गर्न सकिन्छ ।

सावधानी

-कस्मेटिक सर्जरीपछि (अंग र अवस्था हेरेर) सामान्य अवस्थामा आउन समय लाग्न सक्छ । जस्तै, छाला टाइट गर्ने, पेट र हिप घटाउने खालका शल्यक्रियापछि सामान्य अवस्थामा आउन अलि बढी समय लाग्छ ।

– हेरचाहमा ध्यान नपु-याउँदा कतिपय अवस्थामा संक्रमण पनि हुन सक्छ । उपचारमा ध्यान नदिँदा दाग रहने सम्भावना रहन्छ । यसका लागि उचित औषधिको प्रयोग र आराम गर्नुपर्ने हुन्छ ।