सांसदलाई पेपरलेस बनाउने भन्दै सरकारले ३३४ सांसदलाई ल्यापटप बाँड्दै

193

जेठ २८,
काठमाडौँ । सरकारले सांसदलाई पेपरलेस बनाउने भन्दै संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्न लागेको छ । संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसद गरि जम्मा ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । ल्यापटप खरीदको लागी १ महिनाको समयावधि राखेर बोलपत्र जारी गरिएको छ । ‘पेपर, प्रिन्ट र फोटोकपीका लागि सचिवालयको ठूलो रकम खर्च हुने गरेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’

सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि बोलपत्र आह्वान गरिएको हो । संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलका नेता र प्रमुख सचेतकलाई ल्यापटप बाँडिएको थियो । त्यसका लागि भने गैरसरकारी संस्थाले रकम उपलब्ध गराएको थियो । यसपटक राज्यकोषबाट करीव साढे ३ करोड रकम खर्चेर सांसदका लागि ल्यापटप किन्न लागिएको हो ।

संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने सरकारको लक्ष्य रहेको छ । संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै भएकालेच लाउन पनि सिकाइने छ।