जेठ २२,
काठमाडौं । सत्तारुढ दलकै सांसदहरुले लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएका छन । सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहाय प्रसाद यादवले संघीयता, संविधान र कानुन विपरित स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए मुलुक गम्भीर द्वन्द्वमा फस्ने चेतावनी दिए । बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले स्थानीय तहको अधिकार क्षेत्र भित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको बताए । उनले त्यसलाई तत्काल नसच्याए मुलुकमा ठूलो द्वन्द्व निम्तिन सक्नेतर्फ सरकारलाई सचेत गराए ।
लोक सेवा आयोगले केही दिन अघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो । सो विज्ञापन संविधान र कानुन विपरित आएको सांसद यादवको दावी छ । उनले स्थानीय तह आफैले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोक सेवा आयोगले कटौती गर्न नपाउने बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले मुलुकमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तीका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाइन् । उनले कर्मचारी कटौती गर्ने र उनीहरुको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन सरकारलाई सचेत गराइन् । गरिब जनताले तिरेको ट्याक्सबाट कर्मचारी र जनप्रतिनिधिहरुलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराध सरह भएकाले कर्मचारीहरुको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने सांसद भुसालको भनाई छ ।














