बीबीसी, जेठ २२,
काठमाडौँ । “म सम्झनै सक्दिनँ उनी पुरुषका रूपमा कस्तो थिइन्; केही वर्षपछि अहिले त एकदमै सामान्यजस्तो लाग्छ।” १७ वर्षीया मेको लुगा राख्ने दराज सार्लोटले पनि प्रयोग गर्छिन्। उनीहरू दुवैले फूलबुट्टे एउटा हरियो रङ्गको लुगा छाने र त्यसमा राम्री देखिनेमा सहमत भए। मेलाई पुरुष अभिभावकसँग बिताएको समय सम्झिन निकै मुस्किल छ। त्यो सम्झँदा पीडा हुन्छ भनेर होइन, त्यो सम्झना नै धूमिल भइसकेर हो। आज सार्लोट जस्तो छन्, मे उनलाई त्यस्तै रूपमा मात्रै कल्पना गर्न सक्छिन्।
छ वर्षअघि मेले आफ्नो परिवारको सयनकक्ष खोल्दा जे देखिन् त्यो जीवन बदल्ने क्षण भने उनले भुल्न सक्दिनन्। “म कोठामा छिर्दा मेरो आमाले सार्लोटलाई मेकअप लगाइदिन सहयोग गरिरहेको पहिलोपटक देखेको थिएँ। म दुविधामा परेँ। मलाई यो के भइरहेको छ जस्तो लाग्यो। पुरुषले मेकअप गर्नु सामान्य होइन।” “म त्यस्तै १२ वर्षको थिएँ र मलाई तेस्रो लिङ्गी भनेको के हो थाहै थिएन।”
सार्लोट एकदम चुलबुल छिन् र ठूलो स्वरमा बोल्छिन्। छाती, हात र घाँटीमा ट्याटू छ र उनी भीडमा पनि फरक देखिन्छिन्। उनी मिलनसार छिन् र सबैको ध्यान आकृष्ट गर्न सहज महसुस गर्छिन् तर १४ वर्षीय जोका अनुसार यो अवस्था पहिले यस्तो थिएन। उनले एउटा यात्राको व्याख्या गरे जुन कुनै बेला उनीहरू सबैका लागि एकदमै कठिन थियो। त्यस्तो यात्रा जतिबेला सार्लोट आफ्नो नयाँ परिचयबारे अरूले कसरी प्रतिक्रिया जनाउलान् भनेर एकदमै सचेत रहन्थिन्। जो भन्छन्: “मानिसले उनलाई हेरेको र उनको बारेमा कुरा गरेको सुनेर उनी एकदमै नराम्रो महसुस गर्थिन् र दुखी हुन्थिन्।” “एक हप्तासम्म बाहिर ननिस्कने गरि दुखी हुन्थिन्। यो साँच्चै कष्टकर हो। किन कसैले उहाँबारे त्यस्तो भन्नुपर्यो? उहाँ जस्तो हुनुहुन्छ त्यस्तै छोडिदिनुस्।”
तर परिवारले भने सार्लोटप्रति सुरुदेखि नै देखाएको करुणा र समझदारीले गर्दा पुराना कुरा ओझेलमा परेको छ। आफ्ना श्रीमान रहेका व्यक्ति आफ्नो श्रीमती बन्ने कुरामा पनि आग्नीएस्का समर्थनमा उभिइन्।
उनी भन्छिन्: “श्रीमान सदाका लागि महिला बन्दैछन् भन्ने पहिलोपटक थाहा पाउँदा निकै गाह्रो भयो।” कामको सिलसिलामा उनीहरूको भेट जर्मनीमा भएको थियो। यो भनिरहँदा उनीहरू हाँसे तर सुरुमा चाहिँ उनीहरूले भन्न चाहेका थिएनन्। उनीहरूले ट्याटू खोपिएका एकअर्काका हात समाते र भेटेपछि कसरी प्रेममा परे भन्ने सुनाए। वैवाहिक जीवनको १५ वर्ष, विदेशको बसाइ, तीन सन्तान र एकजनाको लिङ्ग परिवर्तन बीच उनीहरूको प्रेम अझै बलियो छ। “मसँग केवल केही दिनहरू थिए, र म पछि हटेँ। अनि भनेँ ‘उ त्यस्तो शरीरमा फसेको छ जुन उ चाहँदैन’। यो शोक जस्तो थियो किनभने जुन व्यक्ति तिमीसँग वर्षौंसम्म थियो, उ हराएको छ र नयाँ व्यक्तिको रूपमा आएको छ।”
सार्लोट र आग्नीएस्काका सन्तानहरूले उनीहरूका साथीहरूबाट यो विषयलाई लिएर कहिल्यै पनि नराम्रो सुन्नु परेन। “हामी साँच्चै भाग्यमानी छौँ। धेरै समलिङ्गी परिवार दिगो हुँदैन र समलिङ्गी व्यक्ति एक्लै बस्छ। तर मेरो आमा सधैँ सार्लोटलाई समर्थन गर्दै आउनु भएको छ। उहाँ सधैँ सार्लोटलाई मद्दत गर्नुहुन्छ र भन्नुहुन्छ उनलाई एकदमै राम्रो देखिएको छ।” घरको मुलढोका खुल्छ र परिवारका सदस्यले स्केटिङ खेल्ने रोलर, स्केटको जोडी, स्केड बोर्ड र ब्यागलाई गाडीमा हाल्छन्। बादलले घेरिएको दिन छ तर उनीहरूको समूह स्केटिङ खेल्न तटीय नगर साल्टबर्न जान तयार छ। सार्लोटले यस्ता खालका गतिविधि केवल आफ्नो फाइदाको लागि मात्रै नभएको बताइन्। उनी बच्चाहरूलाई समय दिने मौका छोड्न चाहन्नन्।
“हामी थुप्रै साहसिक यात्राहरूमा जान्छौँ। हामी हाम्रा बालबच्चाले साहसिक जीवन जिउन् भन्ने चाहन्छौँ। परिवारका रुपमा हामी एकदमै नजिक छौँ र सधैँ एकअर्कासँग हुन्छौँ।” तर सधैँ यो यस्तै रमाइलो भएको छैन। सार्लोटले पुरुषबाट महिला भएको विषय परिवारका निम्ति दर्दनाक भएको सम्झन्छन्। तर उनीहरूले यो समयबाट पार पाए र मेको विचारमा उनीहरूका लागि यो राम्रो भएको छ। “मनोबल एकदमै कम भएको र घरबाटै बाहिर निस्कन नचाहने मानिसबाट अहिले भीडमा देखिन चाहनु भनेको गज्जब हो। उनी आफ्ना सबैकुरा भन्न चाहने र सकारात्मक कुरा बाँडेर सबैलाई खुसी पार्न खोज्ने महिला हुन्।” “उनले जे गरिन् र जसरी पुरुषबाट महिलामा परिणत भइन्, म त्यसका लागि उनीमाथि निकै गर्व गर्छु।”