जेठ २१, काठमाडौं । प्रहरीले रामेछाप घर भएकी ६ वर्षीया बालिका बलात्कार गर्ने एक वृद्वलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ लुबु लामाटार घर भएका ६९ वर्षीय शिव प्रसाद घिमिरे रहेका छन् । घिमिरेले गत जेठ १५ गते स्कुलबाट घर फर्किरहेकी बालिका लाईफकाई घर लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त, सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।
डीएसपी मिश्रले भने, ‘बालिकालाई घिमिरेले एक्लै फर्किरहेको देखेपछि बोलाएर घरमा लगेर दही, रोटी र तरकारी खुवाएछन । त्यसपछि काउकुती लगाउँछु भन्दै काखमा राखेर बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।’ घिमिरेले बालिकालाई पछि यो कुरा कसैलाई नभन भन्दै १० रपैयाँ दिएको समेत प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी मिश्रले बताए । घरमा कसैलाई नभनेकी उनलले स्कुलको साथीलाई भनेपछि घटना बाहिर आएको बताइएको छ ।
घटनाबारे बालिकाकी आमाले थाहा पाएपछि जेठ १७ गते प्रहरी वृत्त सातदोबाटोमा घिमिरेमाथि उजुरी दिएकी थिइन् । बालिकाको आमाको जोहरीपछि प्रहरीले जेठ १९ गते घिमिरेलाई घरबाटै पक्राउ गरेको डीएसपी मिश्रको भनाई छ । पक्राउ परेका घिमिरेमाथि अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिमिरेले यसअघि पनि बालिकाहरुलाई प्रलोभनमा पारेर बलात्कार गर्दै आएपनि स्थानीयले सानातिना घटना भन्दै गाउँमै मिलाउँदै आएको एक स्थानीय बताउँछन् । यता बालिकाको थापाथलीस्थित प्रसुती गृहमा सामान्य उपचारपछि घर फिर्ता गरिएको छ । -रातोपाटी