जेठ १५,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताउनुभएको छ । गणतन्त्र दिवशको अवसरमा आज आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
गणतन्त्र आएको दिनलाई नेपाली जनताले वि.सं. १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “वलजफ्ती थोपरिएको अन्यायका विरुद्ध न्यायको जीत हो । शताब्दीऔंदेखि दबाइएका मानिसका आकांक्षा, पीडा र आँशु गणतन्त्र वहालीको संघर्षका पत्रपत्रमा समाहित छन् ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “ लोकतान्त्रिक अधिकारबाट वञ्चित हुँदा पनि इश्वरीय देन यही हो भन्ने मानसिकताबाट जनता क्रमशः जागरुक हुँदै गएर वलिदानी भावनाका साथ अग्रसर भएपछि एक दिन आएको थियो, गणतन्त्रको निर्णायक मोड । तसर्थः हामीले हासिल गरेको गणतन्त्र र राजनीतिक उपलब्धिहरु जनताको कठोर संघर्ष र बलिदानका उपज हुन् । ”
प्रधानमन्त्री ओलीले ११ बर्ष अघि आजकै दिन नेपालमा जनताले गणतन्त्र स्थापना गरेर राजतन्त्रलाई इतिहासमा सीमित गर्ने सफलता प्राप्त गरेको स्मरण गर्नुभएको छ । “नेपाली जनताले जन्मजात श्रेष्ठताको प्रणालीको अन्त्य गरे । जुन प्रणाली, नेपालमा सयौं वर्षसम्म चलेको थियो । ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीन कालका अगुवाहरु खासमा गणनायकहरु थिए । उनीहरु जनताबाट चुनिन्थे । उनीहरु पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा शासन सत्तामा पुग्ने सामन्तवादका संरक्षक राजा थिएनन् ।”
प्रधानमन्त्री ओलीले हरेक वर्ष गणतन्त्र दिवसलाई एउटा प्रगतिशील परम्पराको शुरुवात भएको दिनको रुपमा स्मरण गर्नुपर्ने बताउनुभएको छ । “यस दिनले हामीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याउँदैछ, जन्मसिद्ध श्रेष्ठता गौरव गर्ने विषय हुँदै होइन् भन्ने बताउँदैछ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ “यो दिवसले हामीलाई गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आमजनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादामा सजग रहन पनि अभिप्रेरित गर्दैछ । ”
प्रधानमन्त्री ओलीले गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताकालागि, जनताले नै निर्माण गरेको उल्लेख गर्नुभएको छ । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।“ जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ त्यस्तो व्यवहारले वास्तवमा जनता, जनताको वलिदान र अधिकारको अपमान हुन जान्छ । जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुन जान्छ । ”













