एजेन्सी, जेठ १५,
काठमाडौँ । जापानले अमेरिकासँग १ सय ५ वटा लडाकु जहाज किन्ने भएको छ। यही साता भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार दिने जापान भ्रमणका क्रममा लकहिड मार्टिन नामक अमेरिकी कम्पनीले बनाएका एफ -३५ मोडलका लडाकु जहाज किन्ने घोषणा गरिएको हो। गत डिसेम्बरमै जापानले ती जहाज किन्ने कुरा सार्वजनिक भएको थियो।
जापानी प्रधानमन्त्री सिन्जो अबेसँगको सम्झौतापछि राष्ट्रपति ट्रम्पले भनेका छन्- जापानले १ सय ५ वटा एफ-३५ स्टिल्थ जहाज किन्ने घोषणा गरेको छ। यी जहाज किन स्टिल्थ हुन्छन् भने तपाईं यिनलाई देख्न (राडारबाट) सक्नुहुन्न। यी जहाज किनेसँगै जापान अमेरिकाका सहयोगी देशहरूमध्ये सबैभन्दा धेरै एफ-३५ जहाज भएको देश बन्नेछ।
यसअघि अष्ट्रेलियाले यस्ता ७२ जहाज किन्नलाई १७ अर्ब डलर छुट्याएको छ भने दक्षिण कोरियाले ४० वटा जहाज अर्डर गरिसकेको छ। सउलले थप २० वटा एफ-३५ जहाज किन्ने निर्माता कम्पनी लकहिडको आशा छ। जापानको यो निर्णयसँग एसिया प्रशान्त क्षेत्रमा हतियार दौड सुरू हुने विश्लेषकहरूले बताएका छन्। जापानको यो कदमले सबैभन्दा बढी चीनलाई झस्काएको छ। पछिल्लो समय प्रशान्त सागरका विभिन्न क्षेत्रमा बलियो उपस्थिति जनाइरहेको चिनियाँ जनमुक्ति सेनालाई यसले चुनौती थपेको छ।
यसअघि चीनले पनि यस्तै नदेखिने एफ-२० जहाज आफ्नो सेनालाई दिएको थियो। तर उक्त चिनियाँ जहाजको इन्जिनमा समस्या देखिएको थियो। जापानले गरेको नयाँ निर्णयसँगै बेइजिङलाई आफ्नो स्टिल्थ जहाजको दौडमा व्यापक सुधार गर्ने दबाब परेको छ।













