Thursday, October 1, 2026
Home स्वास्थ्य एकको मृत्यु भएपछि बर्डफ्लु परीक्षण गर्न एक सय ७२ को नमुना जापान...

एकको मृत्यु भएपछि बर्डफ्लु परीक्षण गर्न एक सय ७२ को नमुना जापान पठाइयो

110

जेठ ७,
काठमाडौँ । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो ।

सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने । महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन ।

परिवारका ७ र १६५ स्वास्थ्यकर्मीको नमुना संकलन 

युवक बिरामी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरिएको छ । जसमा उनको परिवार र आफन्त सातजना छन् भने उनको उपचारमा संलग्न अस्पतालका एक सय ६५ जना छन् । चिकित्सक, नर्स र अन्य कर्मचारीको पनि नमुना संकलन गरिएको महाशाखाले जानकारी दिएको छ । मृतक युवकको काठमाडौंका दुई अस्पतालमा उपचार गरिएको थियो । अस्पताल र मृतकको परिवारको अनुरोधमा उपचार गरिएका अस्पतालको नाम खुलाइएको छैन ।

एक सय ७२ जनामध्ये कसैमा पनि शंकास्पद लक्षण भने देखिएको छैन । यसबारे ३५ जनाको टोलीले अनुसन्धान गरेको थियो । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया हेर्ने टोली र पशुपक्षी मन्त्रालयको टोली सम्मिलित थियो । अनुसन्धानकर्ताका अनुसार जापानको ल्याबले पहिला पनि परीक्षण गरेका कारण सोही ठाउँमा नमुना पठाइएको हो ।

मान्छेबाट मान्छेमा सर्छ कि सर्दैन भन्नेबारे चिकित्सक नै अनभिज्ञ

संक्रमणले गम्भीर रूप लिएको खण्डमा उपचार भएको ठाउँ र संक्रमित व्यक्ति सबै स्पष्ट खुलाउनुपर्ने हुन्छ । तर, अहिले बर्डफ्लु मान्छेबाट मान्छेमा सरेको देखिएको छैन । बर्डफ्लुको लक्षण, उपचारजस्ता विषयमा धेरै चिकित्सक जानकार छैनन् । ‘कुखुरामा सर्छ भन्ने जानकारी छ । कुखुराबाट मानिसमा सर्छ भन्ने पनि छ । तर, मान्छेबाट मान्छेमा सर्छ कि सर्दैन भन्ने थाहा छैन,’ महाशाखाका एक अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा सबै विवरण खुलाउँदा थप त्रास हुने र सेवा अवरुद्ध हुने हुँदा सचेत बन्नुपर्ने अवस्था देखिएको हो ।’

विश्वमा बर्डफ्लु भाइरसको अवस्था 
सन् १९९६ मा बर्डफ्लु भाइरस पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २००३ देखि हालसम्म विश्वभर आठ सय ६० जनामा यो भाइरसको संक्रमण देखिएको छ । तीमध्ये चार सय ५४ जना संक्रमितको मृत्यु भएको छ ।-नयाँ पत्रिका