जेठ ७,
काठमाडौँ । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ । सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो । सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो ।
सरुवारोग विशेषज्ञहरूका अनुसार बर्डफ्लु भाइरस टाढाबाट सर्दैन । एक मिटरको दूरीमा मात्रै यो भाइरस एकबाट अर्कोमा सर्न सक्छ । ‘त्यसैले हामीले संक्रमित मानिसको नजिक आएका एक सय ७२ जनाको नमुना संकलन गरी जापान पठाएका हौँ,’ महाशाखाका एक अधिकारीले भने । महाशाखाका अनुसार एक मिटरको दूरीमा पनि धेरैपटक आवतजावत भएपछि मात्रै यो भाइरस सर्छ । तर, हालसम्म मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको छैन ।
परिवारका ७ र १६५ स्वास्थ्यकर्मीको नमुना संकलन
युवक बिरामी भएपछि उनको सम्पर्कमा आएका व्यक्तिको नमुना संकलन गरिएको छ । जसमा उनको परिवार र आफन्त सातजना छन् भने उनको उपचारमा संलग्न अस्पतालका एक सय ६५ जना छन् । चिकित्सक, नर्स र अन्य कर्मचारीको पनि नमुना संकलन गरिएको महाशाखाले जानकारी दिएको छ । मृतक युवकको काठमाडौंका दुई अस्पतालमा उपचार गरिएको थियो । अस्पताल र मृतकको परिवारको अनुरोधमा उपचार गरिएका अस्पतालको नाम खुलाइएको छैन ।
एक सय ७२ जनामध्ये कसैमा पनि शंकास्पद लक्षण भने देखिएको छैन । यसबारे ३५ जनाको टोलीले अनुसन्धान गरेको थियो । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य अनुसन्धान परिषद्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, विश्व स्वास्थ्य संगठनको दक्षिण एसिया हेर्ने टोली र पशुपक्षी मन्त्रालयको टोली सम्मिलित थियो । अनुसन्धानकर्ताका अनुसार जापानको ल्याबले पहिला पनि परीक्षण गरेका कारण सोही ठाउँमा नमुना पठाइएको हो ।
मान्छेबाट मान्छेमा सर्छ कि सर्दैन भन्नेबारे चिकित्सक नै अनभिज्ञ
संक्रमणले गम्भीर रूप लिएको खण्डमा उपचार भएको ठाउँ र संक्रमित व्यक्ति सबै स्पष्ट खुलाउनुपर्ने हुन्छ । तर, अहिले बर्डफ्लु मान्छेबाट मान्छेमा सरेको देखिएको छैन । बर्डफ्लुको लक्षण, उपचारजस्ता विषयमा धेरै चिकित्सक जानकार छैनन् । ‘कुखुरामा सर्छ भन्ने जानकारी छ । कुखुराबाट मानिसमा सर्छ भन्ने पनि छ । तर, मान्छेबाट मान्छेमा सर्छ कि सर्दैन भन्ने थाहा छैन,’ महाशाखाका एक अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा सबै विवरण खुलाउँदा थप त्रास हुने र सेवा अवरुद्ध हुने हुँदा सचेत बन्नुपर्ने अवस्था देखिएको हो ।’
विश्वमा बर्डफ्लु भाइरसको अवस्था
सन् १९९६ मा बर्डफ्लु भाइरस पत्ता लागेको थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सन् २००३ देखि हालसम्म विश्वभर आठ सय ६० जनामा यो भाइरसको संक्रमण देखिएको छ । तीमध्ये चार सय ५४ जना संक्रमितको मृत्यु भएको छ ।-नयाँ पत्रिका