मदन भण्डारीको हत्याबारे छानबिन प्रक्रिया अघि बढेको छ : गृहमन्त्री थापा

119

जेठ ३,
काठमाडौँ । वर्तमान सरकारले मदन भण्डारी र जीवराज आश्रीतकोको हत्याबारे छानबिन थालेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले छानबिन प्रकृया अघि बढाएको बताएका हुन्। ‘उहाँहरूको हत्यारालाई कानुनीरूपमा थूनामा ल्याउने र अपराधको सजाय दिने प्रकृयालाई वर्तमान सरकारले अगाडि बढाइरहेको छ,’ उनले भने। २५ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटना भएपछी दुवै नेताको मृत्यु भएको थियो। जीप दुर्घटना भएको हो कि उनीहरूको हत्या गरिएको हो भन्नेमा अहिलेसम्म विवाद कायमै छ। गृहमन्त्री थापाले भने जीप दुर्घटना षड्यन्त्रपूर्वक गराइएको संकेत गरेका छन्।

‘नेपालको कम्युनिष्ट आन्दोलनमा मदन- आश्रीतको ठूलो भूमिका छ। नेपालको लोकतान्त्रिक,कम्युनिष्ट आन्दोलनलाई सफल पार्नको निम्ति उहाँहरूले वैचारिक योगदान गर्नु भयो। जनताको बहुदलीय जनवादका प्रतिपादक हुनुहुन्छ,’ उनले भने ‘त्यही कारणले पनि कम्यिनष्ट आन्दोलनका शत्रुहरूले उहाँहरूको अभियानलाई रोक्न षड्यन्त्र गरे। हत्या पनि भयो हत्याराहरूलाई कानुनी कठघरामा ल्याउने नै छौं।’