रोकिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य सुचारु

78

जेठ २,
भैरहवा । ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा रोकिएको राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य बुधबारदेखि पुनः सुचारु भएको छ । पछि शोधभर्नाबाट मिलाउने गरी सरकारले बजेट दिएपछि विमानस्थल निर्माण आयोजनाले बुधबार नै ठेकेदार कम्पनीलाई दस करोड रुपियाँ भुक्तानी दिइसकेको जनाएको छ । रकम पाएपछि निर्माण कम्पनी रोकिएको विमानस्थलको काम सुचारु गर्न तयार भएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । तीन, चार दिनदेखि रोकिएको विमानस्थलको काम बुधबारदेखि नै सुचारु भएको छ, बिहीबार बिहानदेखि रन वे कालोपत्रेको बाँकी काम पनि सुरु हुन्छ, उहाँले भन्नुभयो, “शोधभर्नाबाट हिसाब मिलान गर्ने गरी प्राप्त भएको दस करोड रुपियाँ हामीले निर्माण कम्पनीलाई भुक्तान गरिसकेका छौँ ।” सरकारी ढिलाइले ठेकेदारलाई उपलब्ध गराउनुपर्ने खर्चको भुक्तानी हुन नसक्दा आइतबारदेखि विमानस्थल निर्माणको काम रोकिएको थियो । आयोजना प्रमुख अधिकारीले अन्तिम चरणमा पुगेको धावनमार्गको पिच कार्य अब छिटै नै सकिने जानकारी दिनुभयो ।

उहाँका अनुसार धावनमार्गको तीन तहको पिच निर्माण सकिएको छ । अन्तिम चरणको पिच पनि दुई हजार ५०० मिटर भइसकेको छ । धावनमार्ग तीन हजार मिटर लामो छ । पिच गर्ने उपकरणमा इन्धन भर्नका लागि आवश्यक खर्च ठेकेदारले जुटाउन नसक्दा काम रोकिएको थियो । ठेकेदार कम्पनीले पेस गरेको पछिल्लो बिल परामर्शदाताले चेकजाँच गरेपछि आयोजनासमक्ष पेस भएको थियो । करिब दस करोड रुपियाँ भुक्तानी माग गर्दै उक्त बिल राष्ट्रिय गौरवको आयोजना कार्यालयमा पेस गरेको थियो । आयोजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो । पर्यटन मन्त्रालयबाट बिल अघि नबढ्दा समस्या भएको थियो । दुई महिनादेखि ज्याला नपाइकनै काम गरिरहेका मजदुरले बुधबार भने पैसा पाएपछि खुसी भएका छन् ।बष्चउयचत)द्द
विमानस्थलको काममा कुनै अवरोध नभए अबको डेढ महिनाभित्र निर्माण सकिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो । उहाँले करिब ७२ प्रतिशत काम पूरा भइसकेको जानकारी दिनुभयो । अब करिब २८ प्रतिशत काम उपकरण जडानको हो, उहाँले भन्नुभयो, धावनमार्गको ९५ प्रतिशत, ट्याक्सी वेको ७५ प्रतिशत काम सकियो । उहाँले जहाज पार्किङ ढलानको काम पूरा भइसकेको बताउनुभयो । यता बुटवल उपमहानगरपालिकाले विमानस्थल आयोजनालाई पुरानै दररेटमा नदीजन्य पदार्थ उपलब्ध गराउने भएको छ । आफ्नै कार्यपालिकाको निर्णय उल्टाउँदै उपमहानगरपालिकाले पुरानै दररेटमा दिने निर्णय गरेको हो । गत चैतमा उपमहानगरपालिकाले नदीजन्य पदार्थमा नयाँ दररेट कायम गरी मूल्यवृद्धि गरेपछि विमानस्थल आयोजनाले वृद्धि गरेको रकम नतिर्ने बताएको छ । आयोजनाले पहिले भुक्तानी गरेको रकमसमेत माग गरेपछि उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले पुरानै दररेटमा आयोजनालाई नदीजन्य पदार्थ दिने निणर्य गरेको छ ।