जेठ २,
काठमाडौँ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो गुनासो पोखेको हो । संघकी अध्यक्ष सुष्मा महराले मलमा भएको करोडौंको आर्थिक घोटालाबारे आफूहरुले सुरुवातदेखिनै आवाज उठाएको तर सम्बन्धित सरोकारवाला निकायहरुले अहिलेसम्म यसबारेमा कुनै कारबाही नगरेकोमा आक्रोश पोखिन् ।
महराले आफूहरुले मलमा भएको ज्यादती र घोटालाबारे बोल्दा उल्टै घोटालामा संलग्न व्यक्तिहरुले गुण्डा लगाएर भौतिक आक्रमणसमेत गरेको सुनाईन् । उनले भनिन्,‘ममाथि ज्यान मार्ने उद्देश्यले भौतिक आक्रमण नै भयो । तर, अहिलेसम्म यसबारेमा सरकारले केही कदम चालेन् । म कहाँ–कहाँ जान्छु ? भन्ने कुरा तिनीहरुलाई थाहा हुन्छ, उनीहरु मेरो पिछा गरेर हिँडिरहेका छन् । अहिलेपनि मेरो ज्यानमाथि असुरक्षा छ ।’
त्यस्तै, उनले आफूसँग सहकार्य गरेर हिँडिरहेका पीडित व्यापारी साथीहरुलाई पनि गुण्डाहरुले दुःख दिने काम गरिरहेको जानकारी दिईन् । उनकाअनुसार दर्जनौं साथीहरु अहिलेपनि पीडामा छन् । उनले भनिन्,‘नयाँ व्यवसायी साथीहरुलाई आफ्नो साथमा लिएर मलमा घोटाला गर्ने गुण्डाहरु हिँडिरहेका छन् ।’ महराले मलमा देखिएको घोटालाबारे सञ्चयकोष बेखवरजस्तै बनेको पनि आरोप लगाईन् ।
उनले अघि थपिन्,‘अब जतिसक्दो चाँडो सञ्चय कोषले नयाँ वैज्ञानिक भाडादर कायम गरेर एग्रिमेन्ट गरिदिनुपर्छ । हामीले कम्तिमा पनि तीनदेखि पाँच वर्षसम्मको लागि सम्झौता कायम गर्नुपर्ने माग गर्दै आएका छौं ।’ नयाँ टेण्डर खोल्दापनि वैज्ञानिक भाडादर कायम गरिनुपर्ने उनको माग छ ।
आफूले सुरुवातदेखि नै घोटालाबारे बोल्दै आएको सुनाउँदै उनले आफूलाई ती घोटालामा संलग्न व्यक्तिहरुले एक दिने ज्यान मार्नेसम्मको खुलासा गरिन् । उनले भनिन्,‘मैले बोलेपनि÷नबोलेपनि मलाई ती गुण्डाहरुले मारिहाल्छन् । तर, म नबोलेर मर्नुभन्दापनि बोलेर मर्न चाहन्छु । सायद आजको पत्रकार सम्मेलन मेरो अन्तिम पत्रकार सम्मेलनपनि हुनसक्छ ।’