कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

150

जेठ २,
काठमाडौं । कञ्चनजंघा हिमाल आरोहणका क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुक चिलीका एक नागरिक भने बेपत्ता छन् ।
विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा मृत्यु हुने दुई भारतीय नागरिकमा ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेका छन् ।

कुन्तालको आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र वैद्यको आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो । मृतकको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने भएको छ ।

बेपत्ता हुनेमा दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को छन् । उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथिबाट हराएको हुनसक्ने आशंका गरिएको छ । बेपत्ता रोडरिगोको खोजी भइरहेको छ ।