बैशाख ३०
काठमाडौं । कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारलाई राजनीतिक पुर्वाग्रहबाट माथि उठ्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले बजेट तर्जुमा गर्दा राजनीतिक पुर्वाग्रहबाट माथि उठ्न ध्यानाकर्षण गराएका हुन् ।
बामपक्षीय आधारमा आउने बजेटले मुलुकको विकास गर्न नसक्ने भएकाले संसोधन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । ‘मेरो क्षेत्रमा अघिल्लो सरकारले बजेट विनियोजन गरेको दुईवटा मार्गका हस्तान्तरण भयो । हस्तान्तरण गर्दा योजना गयो पैसा गएन,’ उनले भने, ‘एउटाको नाम सायद मन नपर्ने हुनसक्छ । गिरिजाप्रसाद कोइराला मार्ग थियो । अर्को मदन भण्डारी मार्ग थियो तर कांग्रेस सांसद जित्या ठाउँ भएकाले मदनभण्डारी मार्ग पनि नबन्ने भो । यति ठुलो राजनीति पुर्वाग्रहबाट सहकार्यको बाटो, एकताको बाटो , विकासको बाटोमा जान सकिदैन ।’
नेकपाका महासचिव विष्णु पौडेलले आगामी वर्षको बजेटका प्राथमिकता निर्धारण गर्दा सही सिद्धान्त निरुपण गरिएको भन्दै बचाउ गरे । खाद्यसुरक्षा, रोजगारी, सामाजिक सुरक्षा लगायत मौलिक हकका पक्षमा रही प्राथमिकता निर्धारण गरिएको उनले बताए । राष्ट्रिय आकांक्षालाई पुरा गर्ने गरि सन् २०३० अगाडि नै मध्यम आए भएको मुलुकको रुपमा विकसित गर्ने अठोट सिद्धान्त र प्राथमिकतामा गरिएको उनले जिकिर गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिंङ्देनले योजना बनाएर मात्र नहुने, कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका सन्र्दभमा जे जस्तो योजना ल्याएपनि नियन्त्रणको पक्षमा प्रभावकारी काम हुन नसकेको उनले टिप्पणी गरे । भ्रष्टाचार संस्कृति बन्दा पनि सरकारले एउटा भ्रष्टाचारको काण्डलाई टुंगो लगाउन नसकेको उनले बताए ।