सरकारले बालुवाटार जग्गा छानबिनमा पिठ्युँ फर्काउनेवाला छैन : मन्त्री बास्कोटा

153

बैशाख १९,
काठमाडौं । सरकारले बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ताको विषयमा जोसुकै जोडिए पनि छानबिन गर्न सरकार पछि नहट्ने बताएको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार जग्गा अनियमितता छानबिनमा सरकार पछि नहट्ने बताए ।

‘यसमा म बहुत स्पष्टसँग अनुरोध गर्न चाहन्छु । सरकारले पिठ्युँ फर्काउनेवाला, आँखा चिम्लनेवाला, आँखा झिम्क्याउनेवाला छैन, कानमा तेल हाल्ने वाला छैन’ मन्त्री बास्कोटाले भने । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नेकपा महासचिव विष्णु पौडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुछिए पनि छानबिन प्रभावित नहुने उनले बताए । ‘प्रश्न विष्णु पौडेल वा शेरबहादुर देउवाको होइन । सुवर्णशम्शेरको होइन’ मन्त्री बास्कोटाले भने । जोसुकैको नाममा भए पनि सरकारी सम्पत्ति सरकारले लिने उनले बताए । ‘छ भने उहाँहरुको गयो, सरकारले लिन्छ, त्यति हो सरकारले क्षतिपूर्ति पनि तिर्दैन’ उनले भने ‘महासचिव भनेर लालपूर्जामा लेखेको छैन होला । सभापति भनेर पनि लेखेको छैन वा पूर्वप्रधानमन्त्री भनेर लेखेको छैन ।’

सरकारले संविधान, नियम कानूनले व्याख्या गरेअनुसार सरकारी सम्पत्ति फिर्ता ल्याउने मन्त्री बास्कोटाले जिकिर गरे ।