वैशाख १७,
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले जग्गा विवादमा परेका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्। नेकपाको संसदीय दलको बैठकमा मंगलबार बोलेका अध्यक्ष ओलीले बालुवाटार जग्गा विवादमा पहिलोपटक मुख खोलेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटार (ललिता निवास) सँगै जोडिएको आठ आना सरकारी जग्गा पौडेलका छोरा नवीनको नाममा देखिएपछि नेकपा भित्रबाटै पौडेलको आलोचना भइरहेका बेला प्रधानमन्त्रीले पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण भएको बताए।
‘पदीय दुरुपयोग गरेर महासचिवले जग्गा किन्नु भएको होइन। राजाको शासनको बेला। निरंकुशता भएको बेला किन्नुभएको हो,’ उनले भने। महासचिवमाथि आक्रमण गरेर पार्टी र सरकार कमजोर बनाउन खोजिएको पनि उनले दाबी गरे। ‘पार्टी र सरकारलाई कमजोर बनाउन महासचिवमाथि आक्रमण गरिएको हो,’ अध्यक्ष ओलीले भने, ‘महासचिवलाई लान्छना लगाउने काम भयो।’
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउनेहरुको खोजि भइरहेको भन्दै प्रधानमन्त्री ओलीले क-कसले सरकारी जग्गा हडपेका छन् सरकारले अध्ययन गरिराखेको बताए। ‘जहाँसुकै हडपिएको जग्गा सरकारले फिर्ता ल्याउँछ,’ उनले भने, ‘कसलाई नाफा हुन्छ या कसलाई नोक्सान हुन्छ केही हेरिँदैन। सरकारले सत्यत्थ्य बाहिर ल्याउँछ।’
उनले ह्यात होटलको जग्गा पनि सरकारले फिर्ता ल्याउने बताए। अनियमितता भएको भए कुनै सम्झौता नगर्ने उनले प्रतिबद्धता जनाएका छन्। उनले सांसदहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे। ‘हल्लाको पछि नलाग्नु, वाइडबडि अनियमितताबारे पनि सरकारले छानबिन गर्दैछ,’ उनले भने, ‘मैले भ्रष्टचारीको अनुहार हेर्दिनँ भनेको थिएँ। यही कुरा फेरि दोहोर्याउँछु।’Setopati