डडेलधुरा बस दुर्घटना:पाँच जनाको मृत्यु, क्षमता भन्दा बढी यात्रु र सामान

106

वैशाख ११,
डडेल्धुरा ।भार क्षमता भन्दा बढी यात्रु र सामान बोक्दा बुधबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ मा बस दुर्घटना भएको प्रहरीले बताएको छ । ५ जनाको ज्यान जानेगरी भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुराको साहुखर्कमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने ३२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ३२ जना भार क्षमता भएको बसमा ५० बढी यात्रु र व्यवसायिक प्रयोजनका लागि सयौं क्विन्टल सामान बोकेर धनगढीबाट बझाङका लागि छुटेको बस दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाएका छन् भने ५ जना सख्त घाइते छन् ।दुर्घटनामा ज्यान गुमाउनेमा बझाङ तल्कोट-४ का ४४ वर्षीयका धनबहादुर घर्ती , केदारसिंह गापा-५ का २५ वर्षीय नरेन्द्र गुरुधामी , तल्कोट-५ का ५५ वर्षीया कलशी देवी गुरुधामी ,केदार गापा-५ का हरुली बोहरा, भारत बिहारका २५ वर्षीय मोहम्मद नसीर रहेका छन् ।

ट्रफिक प्रहरी प्रमुख कृष्ण किरण चन्दले दिएको जानकारी अनुसार अत्याधिक भारका कारण दुर्घटना भएको हो । ना६ख १८३१ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ५ बजेतिर सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । धनगढीबाट मंगलबार साँझ ४ बजेतिर हिँडेको बस १३ घण्टा पछि डडेलधुराको साहुखर्क पुगेको देखिन्छ । अत्तरियादेखि ४ घण्टामा पुग्न सकिने दुर्घटनास्थल पुग्न निकै समय लागेको बसका यात्रु बझाङ कोटभैरवका धर्मसिंह रोकायाले बताए । उनले भने, ‘व्यवसायिक प्रयोजनका लागि बझाङ लैजान लागेको समानको विषयमा विवाद हुँदा अत्तरियामा मात्र ३ घण्टा बस रोकिएको थियो । अत्तरियामा रहेका ट्रफिक प्रहरीसँग सेटिङ मिलाएपछि राति अबेर बस हिँडेको थियो ।’Kantipur