ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

116

वैशाख १०
काठमाडौं। आफूलाई ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले मंगलबार दिउँसो उनलाई चाबहिलस्थित घरबाटै पक्राउ गरेको हो । नरेशकुमार न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

बोगटीका अनुसार उजुरी परेपछि अदालतबाट पक्राउ पूर्जी जारी गराएर उनलाई नियन्त्रणमा लिइएको हो । नेपालले भने उजुरी दिने न्यौपाने आफ्नो घरबेटी भएको बताउँदै आफूलाई फसाइएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखका छन्, ‘मैले नरेशकुमार नेउपाने नामक घरधनीलाई घरघाडा वापत ६ लाख रुपैयाँको चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा ६ लाख रकम बुझी आज चेक ल्याउन बिर्सिएँ, भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।’

फणीन्द्रले आफूले नेपाल बैंक लिमिटेडको ६ लाखको चेक २१ मंसिर ०७५ शुक्रबार भुक्तान गर्ने गरी दिएको उल्लेख गर्दै पैसा लिइसकेपछि पटकपटक चेक फिर्ता माग्दा पनि नदिएको दाबी गरेका छन् ।