बैशाख ८,
काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् । उनले आइतबार बिहानमात्रै पनि बालुवाटारमा एकतालाई टुंगोमा पुर्याउनेबारे छलफल भएको भन्दै दिनभरको गृहकार्यपछि बेलुका पुनः बैठक बसेर बाँकी विषयमा सहमति जुटाइने जानकारी दिए ।
उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’ उनले सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब पार्टीमा निर्मम समीक्षा हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएका छन् । देशलाई नयाँ दिशामा अघि बढाउन गम्भीर ढंगले छलफल हुन्छ’ प्रचण्डको भनाई थियो । पार्टी विधान पनि अन्तिम चरणमा पुगेको भन्दै प्रचण्डले केही दिनमा पारित गरिने बताए । एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू अहिले सक्रिय छन् । सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूका बीचमा पनि छलफल भइरहेको छ । जिल्ला नेतृत्वको टुंगो लगाउने विषयमा सैद्धान्तिक सहमति खोज्ने प्रयास गरिरहेका नेताहरू सहमतिनजिक पुगेको भनिएकै बेला प्रचण्डबाट पनि यस्तो अभिव्यक्ति आएको हो ।
यद्यपि, छलफल अझैं चलि नै रहेको छ । छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्वको टुंगो लगाउनुपर्ने अडान राख्दै आएका छन् । लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ । नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् । ७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको नसकेको हो ।-Ratopati
यो पनि पढ्नुहोस् :
अपडेट: गिर्जाघर र होटलमा विस्फोटन हुदाँ कम्तीमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते