चैत २७,
काठमाडौँ -नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै छ। सगरमाथाको उचाइ नाप्न सरकारी टोली आज सगरमाथा जाँदै छ। टोलीमा पाँचजना रहेका छन्। उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बिदाइ गर्ने कार्यक्रम रहेको छ। टोलीमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड एवं नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा, प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन्।
यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो। उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए। सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो। उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो। दुई टोलीले सगरमाथाको उचाइ फरकफरक मापन गरेपछि नेपाल सरकारको टोलीले पहिलो पटक आफैँ उचाइ नाप्न लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवम् प्रवक्ता जनकराज जोशीले बताए। उनले सगरमाथाको उचाइ मापनको लागि प्रधानमन्त्रीको बिदाइपछि आजै प्रस्थान गर्ने बताए।
सगरमाथा उचाइ मापनको अन्तिम रिपोर्ट सन् २०१९ डिस्म्बरसम्ममा ल्याउने तयारी सरकारको रहेको उनले जानकारी दिए।