स्तनको आकार कसरी बृद्धि गर्न सकिन्छ ?

116

म २० वर्षीया युवती हुँ । अहिलेसम्म पनि मेरो स्तनको विकास भएको छैन । मैल एकपटक चिकित्सकलाई देखाउँदा पहिला महिनावारी हुनुपर्ने बताइएपछि मैले ओभरल भन्ने औषधी खाएँ । त्यसपछि महिनावारी त भयो, तर त्यो औषधी छोडेपछि महिनावारी पुन: बन्द भयो । जब त्यो औषधी लिन्छु तब मात्र महिनावारी हुन्छ । मलाई आफ्नो स्तन देखेर धेरै चिन्ता लाग्छ । अरूले पनि नराम्रो नजरले हेर्छन्, जसका कारणले मैले एकपटक आत्महत्या गर्ने प्रयास समेत गरें । म जसरी भए पनि यो समस्याबाट मुक्त हुन चाहन्छु । के गर्ने होला ? ब्रेस्ट सर्जरी गर्न कति खर्च लाग्छ ?

६५९८
स्तनको विकास

स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ । सामान्यत: दुई–तीन वर्ष चाँडो–ढिलो हुन सक्छ । स्तनको विकासको कुरा गर्दा आकृति (shape) आयतन (size) लाई नै Tanner Stage भनिने पाँच चरणमा बाँडिएको छ ।

पहिलो चरण : यो किशोरावस्था भन्दा पहिलेको अवस्था हो । यो अवस्थामा स्तनको मुन्टो मात्र उठेको हुन्छ ।

दोस्रो चरण : Bud जस्तो देखा पर्छ, यो चरणमा स्तन र मुन्टो अलिकति माथि उठेको हुन्छ । Areola (मुन्टोको वरिपरिको कालो रंगको छाला भएको क्षेत्र) अलि ठूलो भएर आउँछ ।

तेस्रो चरण : स्तन अझ बढ्ने र ग्रन्थिय तन्तु (glandular tissue) बन्ने क्रम जारी रहन्छ ।

चौथो चरण : Areola र मुन्टो अझै उठ्ने, स्तनको सबै भागमा अझ वृद्धि हुन्छ ।

पाँचौं चरण : स्तन वयस्कको जस्तै विकसित हुने, स्तनले गोलाकार आकृति लिने, Areola स्तनको अन्य भागको सतह समान हुने र मुन्टो मात्र उठेको स्थितिमा हुने । पूर्ण विकसित स्तनको आकार र साइजमा धेरै भिन्नता पाइन्छ । गर्भवती र स्तनपान गराइरहेको अवस्थामा स्तन केही ठूलो हुन्छ । व्यक्तिको वजन बढी भए यसको आकार पनि ठूलो हुन्छ । किशोरावस्थामा स्तनको तीव्र वृद्धि हुनुको मुख्य कारणचाहिं स्तनमा बोसो जम्मा हुनु हो र स्तनको आकार (आयतन) निर्धारण गर्ने मुख्य कुराचाहिँ हार्मोन हो, त्यसैले यसको आयतनलाई सजिलै परिवर्तन गर्न सकिंदैन । माथिका चरणहरूले स्तनको विकासलाई देखाउँछ नकि यसको वास्तविक आकृति वा आयतनलाई ।

स्तनको आकार र आयतनको महत्व

तपाईंले भन्नु भएजस्तै यसको आफ्नै प्रकारको महत्व छ । स्तनले महिलालाई यौन आकर्षक बनाउँछ र स्तनको स्पर्श महिला तथा पुरुष दुवैलाई यौन आनन्दको स्रोत हुन सक्छ । स्तनको आकृति तथा आयतनले महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव पार्छ । कतिले यसलाई आत्मसम्मानको कुरा मान्छन् । महिलाहरूमा स्वास्थ्य भन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने पाइएको छ । तपाईंको चिन्ताको मूल जरो पनि यही हो । अचेल शरीरलाई अति नै दुब्लो तर स्तनचाहिँ ठूला हुनुपर्ने फेसन छ, जुन त्यति सजिलो छैन । फेरि चित्रहरूमा जुन चलाखीले स्तनलाई आकर्षक देखाइएको हुन्छ त्यसो गर्न त्यति सजिलो पनि छैन, कतिपय स्थितिमा हामी दिग्भ्रमित हुन पुग्छौं । आमसञ्चारमा चित्रित गरिने व्यक्तित्वहरू आमव्यक्तिभन्दा फरक हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ । हामी सबैको शरीर तथा आनीबानी आमसञ्चारमा देखाइएका पात्र जस्तै हुनुपर्छ भन्ने छैन । स्तन सानो हुँदैमा यौन क्रियाका लागि आवश्यक संवेदनशीलता नरहने वा शिशुलाई स्तनपान गराउन असक्षम हुने होइन । केही पुरुष ठूला स्तनप्रति आकर्षित हुने भए पनि वास्तविक यौन क्रियाका बेला स्तनको आयतनलाई नै सुखमय यौन जीवनका लागि मुद्दा बनाउँदैनन् । त्यसैले साना स्तन हुनेहरूको वैवाहिक जीवन पनि सहज र रमाइलो भएका थुप्रै उदाहरण छन् । त्यसैले यस विषयमा अनावश्यक चिन्ता गर्नु र आत्महत्याको प्रयास त के सोच आउनसम्म दिनु बुद्धिमानी होइन, तर तपाईंले यसलाई निको पार्ने सोच राख्नुभएको कुराले भने म उत्साहित छु ।

स्तनको विकास नहुने कारण र महिनावारी नियमित नहुनुको संकेत

हामीलाई थाहै छ, किशोरावस्थामा विभिन्न शारीरिक परिवर्तनहरू हुन्छन् । तपाईंले स्तन तथा महिनावारीको बाहेक सहायक यौन चिन्हहरूका बारेमा भने केही लेख्नुभएको छैन । १४ वर्षको उमेरसम्म पनि स्तनको विकास नहुनु वा यौनकेश (यौनाङ्ग वरिपरि रौं) नआउनु वा १६ वर्ष सम्म महिनावारीको सुरुवात नहुनु, स्तनको विकास हुन थालेको ५ वर्ष पछिसम्म पनि महिनावारी नहुनुले तपाईंको यौवनावस्थामा प्रवेश हुने कुरामा ढिलाइ भएको संकेत गर्छ । यसरी यौवनावस्था सुरु हुने कुरामा ढिलाइ हुनुका अनेक कारण हुन सक्छन् । कुनै दीर्घरोग, कुपोषण वा वंशाणुमा भएका खराबी अनि हार्मोन (पिटयुटरी वा थाइराइड) मा भएका खराबी त्यसका कारण हुन सक्छन् । तपाईंले यस विषयमा केही पनि जानकारी दिनुभएको छैन, त्यसमा पनि चिकित्सकले तपाईंको समस्याका बारेमा के भन्नुभयो, जानकारी दिनुभएको छैन । तपार्इंका आमा वा दिदी–बहिनीमा पनि यस्तो समस्या भए/नभएको कुरा पनि पत्रमा केही उल्लेख छैन ।

समाधान के होला त ?

यदि यौनावस्थाको सुरुवातमा ढिलाइ भएको हो भने त्यसको कारण अनुसार उपचार गर्नुपर्ने हुन्छ । यस्तो समस्याका लागि चिकित्सक त्यसमा पनि हार्मोनसम्बन्धी विशेषज्ञ (Endocrinnologist) सँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले विकसित मुलुकहरूमा शल्यक्रिया (mammoplasty) गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको आफ्नै कतिपय नकारात्मक असर पर्न थालेको देखिएको हुनाले त्यसका वैकल्पिक उपायहरूको अवलम्बनका बारेमा पनि निकै प्रचार गर्न थालिएको छ ।

तपाईंलाई थाहै छ कि भाग्यवश स्तन खुला राख्नु नपर्ने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न जान्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसै किसिमले स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन केही ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि पाइन्छन् । ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगाबाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो वा होइन भन्न सकिंदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी देखाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ ।

-डा. राजेन्द्र भद्रा/ साप्ताहिक