असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन देउवाको चुनौती

68

चैत्र २१,
विराटनगर —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए । तर कांग्रेस विधान अनुसार विशेष महाधिवेशन डाक्ने अन्तिम अधिकार सभापतिमै छ ।

‘पार्टीका असन्तुष्ट २०/२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छन् भने बोलाएर दखाउन्,’ उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’ सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे । पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध गरिरहेको उनले सुनाए ।

कांग्रेसका बहुमत जिल्ला सभापतिहरूले स्वतः प्रतिनिधिको प्रावधान हटाउने र आरक्षणको सुविधा दोहोर्‍याउन नपाउने व्यवस्था विधानमा राख्नुपर्ने माग सम्बोधन नभए विशेष महाधिवेशन बोलाउन हस्ताक्षर थाल्ने जनाएका छन् । पार्टी विधानअनुसार एक चौथाइ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरे नेतृत्वले विशेष महाधिवेशन बोलाउनुपर्छ । विशेष महाधिवेशन बारे छलफल गर्न जिल्ला सभापतिहरूले काठमाडौंको ठमेलमा बुधबारदेखि भेला बोलाएका छन् ।
न्यायपालिकामा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्विकार्य नहुने देउवाको भनाई थियो । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिकभन्दा बाहिर हुनुपर्छ,’ उनले भने, ‘न्याय परिषदले न्यायाधीस सिफारिसमा राजनीतीकरण गर्न गर्नु हुँदैन ।’ भन्ने उनको धारणा थियो ।