चैत १८,
काठमाडौँ -राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको माध्यामिक शिक्षा परीक्षा एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ। बोर्डको आज बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए।
चैत्र १० गतेबाट शुरु भएको परीक्षाको चौथो दिन रद्द गरिएको विज्ञान विषयको परीक्षा २२ गते लिने बोर्डले यसअघि नै निर्णय गरीसकेको छ। २३ गते सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्रविधिक विषयहरुको परीक्षा लिइने बोर्डले जनाएको छ।