पछिल्लो विवरणः हावाहुरीबाट ज्यान गुमाउनेको संख्या ३५ पुग्यो, ५०० बढी घाइते, उद्धार जारी

63

चैत १८
काठमाडौँ -प्रदेश नम्बर २ मा आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले धेरैको ज्यान गएको छ । हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी ३५ जनाको मृत्यु भएको छ । बारामा ३४ र पर्सामा एक जनाको मृत्यु भएको हो । हावाहुरीबाट रौतहटमा समते गरी ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट घर भत्किँदा बाराको ठेटा गाउँपालिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

तेलकुवा, सिम्रनगढ, त्रसैनी, भलुही, हार्दिया, पशुरामपुर, धर्मनगरलगायतका ठाउँमा मानवीय क्षति र धनजनको क्षति भएको हो । आधा दर्जन बढी गाउँका अधिकांश घर भत्किएका छन् । पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ । अहिले उद्धारकार्य जारी रहेको छ ।

मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।