लागुऔषध : ‘बरामद हुन्छ, नष्ट गरेको प्रमाण हुँदैन’

98

चैत १३,
बाँके -प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्नेगर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ ।

बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ । बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद ग¥यो त्यसको रेकर्ड प्रहरीसँगै छैन । सूचना माग्दा सबै नष्ट गरेको मुद्दा शाखाका प्रहरी निरीक्षक दीपक मल्ल बताउनुहुन्छ । तर, कति परिमाण नष्ट गरिएको भनेर सोध्दा उहाँले एकिन जानकारी दिन सक्नुभएन ।

उहाँले बनावटी जवाफ दिँदै भन्नुभयो, “सबै नष्ट भयो ।” कानूनअनुसार कुनै पनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पु¥याएर नष्ट गर्नुपर्छ । तर, वार्षिकरूपमा ठूलो परिणाममा लागुऔषध बरामद भए पनि प्रहरीसँग कति परिमाणमा नष्ट ग¥यो भन्ने तथ्याङ्क नै छैन तर, मुद्दा शाखाका प्रहरी निरीक्षक मल्ल भन्नुहुन्छ, “बरामदपछि सार्वजनिक गरिएको सबै लागुऔषध नष्ट गरिएको छ, हामीसँग तथ्याङ्क छैन र दिन पनि मिल्दैन ।”

बरामद लागुऔषध नष्ट गर्दा अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सञ्चारकर्मी, नागरिक समाज र प्रहरी सबैको रोहबरमा हुनुपर्ने कानूनी प्रावधान छ तर, प्रहरीले अहिलेसम्म लागुऔषध नष्ट गर्दा यी कुनै पनि निकायलाई रोहबरमा राखेर नष्ट गरेको छैन । नष्ट गरेको प्रमाण सार्वजनिक नहुने भन्दै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले नष्ट गर्दा धेरै निकाय संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुने बताउनुभयो ।

“बरामद गर्दा प्रहरी मात्रैले बरामद गर्ने हुँदा बरामदको प्रमाण सार्वजनिक हुन्छ तर, नष्ट गर्न थुप्रै निकाय संलग्न हुने भएकाले सार्वजनिक गर्न असहज हुन्छ”, प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो । लागुऔषधको जिम्मेवारी प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको हुने र प्रहरीले कानूनी प्रक्रिया टुङ्ग्याएपछि नष्ट गर्ने बेलामा मात्र प्रशासन कार्यालयका प्रतिनिधि बोलाउने गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

“नष्ट गर्दा मात्रै बोलाइने हुँदा बरामद गरिएको लागुऔषध दुरुपयोग हुने÷नहुने हामीलाई थाहा हुँदैन”, उहाँले भन्नुभयो, “त्यो प्रहरीलाई नै सोध्नुपर्छ ।” कानूनतः लागुऔषध बरामदपछि प्रमाणका रूपमा अदालतमा विवरण पेश गर्नुपर्छ । घटनाको सम्पूर्ण अनुसन्धान नसकुञ्जेल त्यसलाई नष्ट गर्न पाइँदैन । अनुसन्धान सकिएपछि मात्रै अदालतको फैसलाअनुसार, प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीको रोहबरमा लागुऔषध नष्ट गरिनुपर्ने प्रावधान छ तर यहाँ यस्तो प्रक्रिया अहिलेसम्म पूरा गरिएको देखिँदैन ।

एक तथ्याकङ्अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ५८७ ग्राम ६८ मिलिग्राम ब्राउनसुगर, ३० किलो २०० चरेश, नाइट्रोजेपाम ९३५ ट्याब्लेट, अफिम पाँच किलो र गाँजा १५ ग्राम बरामद गरिएको थियो । आर्थिक वर्ष २०७३÷७४ मा ५३७ ग्राम ३१२ मिलिग्राम ब्राउनसुगर, ३७ किलो एक ग्राम गाँजा, १० किलो ५३ ग्राम अफिम, पाँच लिटर २०० मिलिटिर कोरेक्स, नाइट्रोजेपाम ९७५ ट्याब्लेट बरामद भएको थियो ।

आर्थिक वर्ष २०७४÷७५ मा ३७५ ग्राम २६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो २५० ग्राम चरेश, सात किलो ३०० ग्राम अफिम, १०० ग्राम गाँजा, दुई हजार ६५० मिलिलिटर कोरेक्स, तीन हजार ९२६ नाइट्रोजेपाम÷नाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भएको थियो तर, यी सबै लागुऔषध नष्ट गरिएको दाबी गरे पनि प्रहरी निरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयमा यसको तथ्याङ्क नभएको बताउनुभयो ।-रासस